जिल्लाबासीहरु प्रति सादर अनुरोध। प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७७ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र न‌‍ १(१),१(२), र २(१),२(२) का स्वीकृत योजनाहरु स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७७ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र न‌‍ १ र २ का स्वीकृत योजनाहरु नदिजन्य÷खानीजन्य पदार्थको उत्खनन् र सङ्कलन भक्तपुर जिल्लामा अनुगमन । जिल्लाकाे २०७६/०७७ को बार्षिक समिक्षा कार्यक्रम उद्‍घाटन गर्नुहुँदै प्रमुख अतिथि मा‍. श्री महेश बस्नेत ज्यू बार्षिक समिक्षा कार्यक्रममा सहभागीता सम्बन्धमा । आ.व. २०७७÷०७८ को जि.स.स. भक्तपुरको माौज्दातकोषबाट १०००००००(एक करोड) अनुदान तथा सु.न.पा. भक्तपुरको ३१००००० अनुदान साझेदारीमा निर्माणधिन सु.न.पा. वडा नं. १० को वडा कार्यालय भवनको जि.स.स. भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुंवर लगाएतको अनुगमन टोलिद्धारा अनुगमन (२०७७–०८–०८) । जिल्ला समन्वय समितिकाे कार्यालय, भक्तपुरबाट हुने सेवा स्थगित गरिएको सूचना । जिल्ला समन्वय समिती, भक्तपुरका प्रमुख द्धारा जिल्लाबासीहरु प्रति हार्दिक अनुरोध।

संक्षिप्त परिचय

भक्तपुर जिल्लाको सङ्क्षिप्त परिचय

मौलिक कला, संस्कृति, परम्परा र रीतिरिवाजमा अब्बल भक्तपुर भौगोलिक छटा रप्राकृतिक विविधतालेसमेत सुसम्पन्न जिल्ला हो ।पुरातात्विक वैभव र ऐतिहासिक धरोहरहरूले यसलाई जीवन्त तुल्याएका छन्।नेपालको केन्द्रीय राजधानीसमेत रहेको काठमाडौँ उपत्यकाभित्र पर्ने भक्तपुर जिल्लामा लिच्छवीकाल र मल्लकालदेखिका अद्वितीय कलाकृतिहरू सङ्गृहित छन् । नेपालको संविधानले सतहत्तर जिल्ला र सात प्रदेशको व्यवस्था गरेअनुसार बागमती प्रदेशभित्रका तेह्र जिल्लामध्येको एक हो भक्तपुर ।क्षेत्रफलको हिसाबले सबैभन्दा सानो भएता पनि जनसङ्ख्याको दृष्टिले सबैभन्दा बढी जनघनत्व ओगटेको जिल्ला पनि भक्तपुर नै हो । कालचक्रसँगसँगै यो ऐतिहासिक भक्तपुर जिल्ला आफ्नो पुरातात्विक शाखलाई जोगाउँदै नीतनवीन उपलब्धितर्फ अग्रसर छ। नेपालको संविधानको धारा २२० मा व्यवस्था भएअनुरुप यस जिल्लामा रहेको ‘जिल्ला समन्वय समिति, भक्तपुर’ले उक्त धाराकै उपधारा ७को व्यवस्थाअनुसार यस जिल्लामाआफ्नो प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ ।
भक्तपुर भक्तहरुको नगरी हो । लिच्छवीकालीन राजा मानदेवका पालाको अभिलेख (सम्बत् ३९९) मा भक्तपुरलाई ‘खोपृङ्ग्राम’भनिएको छ । ‘ग्राम’ शब्दले गाउँ बुझाउँछ भने ‘खोपृङ्’ शब्दबाट ‘ख्वप’ वा‘खोप’ अपभ्रंश भएको देखिन्छ । भक्तपुरको खलाछेँटोलमा भेटिएको अभिलेखमा भक्तपुरलाई ‘खृपाङ्ग’ भनिएको छ । पछि वि. सं. १९९२ को अभिलेखमा यसलाई ‘भद्रग्राम’ भनिएको छ जसबाट ‘भादगाउँ’ अपभ्रंश भएको स्पष्ट हुन्छ । तत्कालीन राणाशासक जुद्ध शमशेरले मन्दिरैमन्दिरको यस नगरका बासिन्दाहरु अत्यन्तै भक्तभावका भएकाले भादगाउँलाई ‘भक्तपुर’ भनी नामकरण गरिदिए । यसरी अहिले ‘भक्तपुर’, ‘ख्वप’ र ‘भादगाउँ’ नामबाट यस ऐतिहासिक नगरी र समग्र जिल्लालाई नै सम्बोधित गरिन्छ।
मध्यकालीन नेपालमा भक्तपुरको गरिमा अत्यन्तै उँचो रहेको भेटिन्छ । मल्लकालमा नेपालखाल्टो अर्थात उपत्यकाको राजधानी भक्तपुर थियो । तत्कालीन मल्ल राजाहरु ‘युथनिम्हम’ र‘त्रिपुर’ नाम गरेका दरबारमा बसेर राजकाज चलाउँथे । इतिहासको अध्ययन गर्दा ती दरबारहरु भक्तपुरमै रहेको बुझिन्छ । उनीहरुले बनाएका चारपाटे र किल्लाजस्तै सुरक्षित दरबारलाई स्थानीय भाषामा ‘चौक्वाँठ’ भनिन्थ्यो । यक्ष मल्लको शासनकालपछि मात्र उपत्यकामा भक्तपुर, काठमाडौँ र पाटन गरी तीन राज्यको व्यवस्था भयो । तत्कालीन समयमा उपत्यकाकै केन्द्रविन्दु समेत भएकाले पनि भक्तपुरलाई अतिप्राचीन र ऐतिहासिक नगरीका रुपमा बुझ्नु पर्दछ ।
भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपलिकामा नेवार जातिको बाहुल्यता देखिन्छ भने सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा ब्राह्मण, क्षेत्री, तामाङ, गुरुङ, नेवार लगायतका विभिन्न जातजातिको बसोबास छ । लिच्छवीकालदेखिका अनेकौँकलाकृतिहरूले सुसज्जित विभिन्न देवीदेवताका मठमन्दिर र कलाकौशलले सुशोभित यस जिल्लामा गाईजात्रा, बिस्केजात्रा, सिन्दुरजात्रा, जिब्रो छेड्ने जात्रा लगायतका जात्रा मनाउने गरिन्छ ।यस जिल्लामा पाइने जुजु धौ (दही) र भादगाउँले कालो टोपी देश तथा विदेशमा समेत प्रख्यात छन् । नगर तथा नगरबाहिर बटुवाहरुका लागि पाटीपौवा र धाराको समेत व्यवस्था भएको भक्तपुर आफ्नो नामजस्तै भक्तिभावबाट ओतप्रोत छ ।
नेपालकै सर्वप्राचीन लिच्छवीकालीन चाँगुनारायणको मन्दिर यसै जिल्लाअन्तर्गत चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा अवस्थित छ । पाँचतले मन्दिर, पचपन्न झ्याले दरबार र भक्तपुर दरवार परिसर जो विश्व सम्पदासूचीका गहनासमेत बनेका छन्, ती यहीँ छन् । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिर, शिद्धीकाली मन्दिर, दत्तात्रय मन्दिर, नीलबाराही मन्दिर, सूर्यविनायक गणेश मन्दिर, सिद्धपोखरीजस्ता महत्वपूर्ण सम्पदाहरूले यसको गरिमा बढाएका छन् ।पुरातात्विक सम्पदा र प्राकृतिक उदारताले गर्दा यो जिल्ला विश्वभरका पर्यटकहरूका लागि गम्यरम्य छ ।
सार्क राष्ट्रस्तरीय राष्ट्रिय क्षयरोग केन्द्र, मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, निर्माणाधीन वीर अस्पताल प्रतिष्ठान, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, राष्ट्रिय प्राणी उद्यान केन्द्र पनि यसै जिल्लामा रहेका छन् ।भक्तपुर जिल्लाको केन्द्र भागबाट चारओटै नगरपालिकाका कुनै पनि वडा कार्यालयसम्म पुग्न पैदलयात्रा गर्दा पनि एकदुई घण्टाभन्दा बढी समय नलाग्ने हुँदा यसलाई सुगम जिल्लाका रुपमा चर्चा गर्दा अतिशयोक्ति हुनेछैन ।वर्षैभरि यातायातको सुविधा भएको यो जिल्ला प्राकृतिक छटाले भरिपूर्ण अत्यन्त मनोरम स्थलको सङ्गमको रूपमा समेत परिचित छ ।
नेपालको मानचित्रमा ८५०२१’ देखि ८५०३२’ पूर्वी देशान्तरसम्म र २७०३६’ देखि २७०४४’ उत्तरी अक्षांशसम्मभक्तपुरको सिमाना फैलिएको छ । यस जिल्लाको पूर्वमा काभ्रेपलाञ्चोक, पश्चिम र उत्तरमा काठमाडौँ र दक्षिणमा ललितपुर जिल्ला पर्दछ । यो जिल्लाको क्षेत्रफल ११९ वर्ग कि.मी.रहेको छ । यस जिल्लामा प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेका छन् । यसको पूर्वपश्चिम लम्बाइ १६ कि.मी. र उत्तरदक्षिण चौडाइ ११.२ कि.मी. रहेको छ । यस जिल्लाको सरदर उचाइ समुन्द्र सतहबाट १,३३१ मिटर रहेको छ । यस जिल्लाको सबैभन्दा अग्लो भूभाग चाँगुनारायण नगरपालिका वडा नम्बर ६ मा रहेको नगरकोट हाइटलाई मानिन्छ जसको उचाइ २,१९१ मिटर छ । नगरकोटबाट सूर्योदयको मनमोहक दृष्य हेर्न सकिन्छ । भौगोलिक बनावटको दृष्टिकोणले यो जिल्ला उपत्यकाका अरु दुई जिल्लाहरूसित मिल्दोजुल्दो छ ।
प्रशासनिक विभाजनअनुसार भक्तपुर जिल्लामा चारओटा नगरपालिकाहरू छन् । यसमध्ये भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका पुराना नगरपालिका हुन भने चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिका नेपाल सरकारको वि. सं. २०७३ साल फागुन २७ गतेको निर्णयबमोजिम पछि गठन भएका नयाँ नगरपालिकाहरू हुन् ।

जिल्लाको भौगोलिक विवरण ः

सिमाना  
पूर्व- काभ्रेपलाञ्चोक जिल्ला 
पश्चिम- काठमाडाँै जिल्ला र ललितपुर जिल्ला 
उत्तर- काठमाडाँै जिल्ला र काभ्रेपलाञ्चोक जिल्ला 
दक्षिण- काभ्रेपलाञ्चोक जिल्ला र ललितपुर जिल्ला

 क्षेत्रफल
 कृषिक्षेत्र- ८,०७७ हेक्टर
 वनक्षेत्र- २,१२५ हेक्टर
 आवासक्षेत्र- २,१०० हेक्टर
 जम्मा क्षेत्रफल- १२,०५७ हेक्टर

२०६८ सालको जनगणना अनुसार जनसङ्ख्या विवरणः
महिला -१,४९,७६७ 
पुरुष- १,५४,८८४

जम्मा जनसङ्ख्या- ३,०४,६५१
जनघनत्व- २,५६०÷वर्ग कि.मी.

धर्म अनुसार जनसङ्ख्याको विवरण,          जातीय आधारमा जनसङ्ख्याको विवरण
हिन्दू ८७.८५ %                                           नेवार ५५.८५ %
बौद्ध ९.१८ %                                                 क्षेत्री १८.५३ %
क्रिस्चियन १.९७ %                                       ब्राह्मण १०.१४ %
इस्लाम ०.४९ %                                            तामाङ ६.५३ %
किरात ०.३८ %                                             मगर १.६३ %
अन्य ०.१२ %                                                अन्य ७.३२ %

जिल्लामा उपलब्ध पूर्वाधारहरु तथा अन्य विभिन्न आयामहरु
क) शिक्षा
भक्तपुर जिल्ला शैक्षिक हिसाबले नेपालकै एक उत्कृष्ट जिल्ला मानिन्छ । निजी तथा सामुदायिक विद्यालयले प्रदान गर्ने शैक्षिक गुणस्तर र प्राप्त नतिजा राष्ट्रिय स्तरमै उच्चतम् रहिआएको पाइन्छ । उच्चशिक्षाका लागि पनि भक्तपुर बहुमुखी क्याम्पस, सानोठिमी क्याम्पस, नेपाल इन्जिनियरिङ कलेज, सामुदायिक रुपमा सञ्चालित एक मात्र श्रीकृष्ण बहुमुखी क्याम्पस, ख्वप कलेज, काठमाडौँ मेडिकल कलेजलगायतका संस्थाहरुले भूमिकानिर्वाह गरिरहेका छन् । सबै बालबालिकाहरुको पहँुचमा विद्यालय रहेको यस जिल्लामा साक्षरता दर पनि उच्चतम् नै रहेको छ ।वि.सं. २०६८ को जनगणनाअनुसार राज्यको औसत साक्षरतादर ६५.९ प्रतिशत रहेकामा भक्तपुर जिल्लाको साक्षरतादर ८१.७ प्रतिशत रहेको छ । पछिल्ला वर्षहरुमा सञ्चालन गरिएका साक्षरता तथा साक्षरोत्तर कक्षाहरुका कारण यो दरमा अझै सुधार आएको छ ।
ख) स्वास्थ्य
वि.सं. १९६१ सालमै चन्द्र शमशेरको पालामा चन्द्र शमशेर डिस्पेन्सनरीका नामबाट स्थापित भक्तपुर अस्पताल रहेको यो जिल्लाको स्वास्थ्य सेवाको स्थिति सन्तोषजनक नै मान्नु पर्दछ । भक्तपुर क्यान्सर अस्पताल नेपालभरिका क्यान्सर पीडितहरुको भरोषा केन्द्र हो । सार्कराष्ट्रस्तरीय राष्ट्रिय क्षयरोग केन्द्र पनि भक्तपुरको थिमीमै रहेको छ । मानवअङ्ग प्रत्यारोपण केन्द्र, सिद्धिस्मृति महिला तथा बाल अस्पताल, डा. इवामुरा मेमोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, नेपाल मेडिकल कलेज, कोरिया नेपाल मैत्री अस्पताल लगायत अन्य विभिन्न निजी तथा सरकारी स्वामित्वका अस्पताल र स्वास्थ्य केन्द्रहरुले जिल्लामा स्वास्थ्य सेवा दिइरहेका छन् । मेडिकल शिक्षातर्फको बढ्दो आकर्षण र स्वास्थ्यकेन्द्र माथिको सहज पहुँचले जनस्वास्थ्य र दीर्घायुमा सघाउ पुगिरहेको छ ।
ग) यातायात
नेपालकै सुगम र विकसित उपत्यकाभित्र भएको भक्तपुर जिल्लामा यातायातको राम्रो सुविधा छ । लोकन्थली देखि साँगाभञ्ज्याङ हुँदै जाने अरनिको राजमार्ग यहाँको एकमात्र राजमार्ग हो जसले एकातिर राजधानी सहर र अर्कातिर चिनको स्वशासित क्षेत्र तिब्बतलाई नेपालसँग जोड्दछ । मूलतः भक्तपुर नगर वा अरनिको राजमार्गबाट सुरु भएर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर सडक सञ्जालको विकास भएको छ । निकै पुराना र बनिरहेका सडकहरुले भक्तपुरका अधिकांश बस्तीहरुमा आउजाउ गर्न असाध्यै सजिलो भएको छ । प्रायः ठाउँमा पिच बाटाहरु बनिसकेका छन् र पहिले बाटोघाटोको असुविधा भएका ठाउँमा पनि कच्ची र ग्राभेल बाटाका साथै विभिन्न करिडोरहरु खोल्ने काम पनि धमाधम भइरहेको छ । उपत्यकामा बन्न लागेको बाहिरी चक्रपथको निर्माणसँगै भक्तपुरमा अझै सहज यातायातको व्यवस्था हुने स्पष्ट छ ।
घ) सञ्चार
भक्तपुर क्षेत्रफलका हिसाबले सानो भएको र अतिविकट ठाउँहरु पनि नभएका कारण सञ्चारका दृष्टिकोणले सम्पन्न छ । अधिकांश बासिन्दाहरु टेलिफोन, मोबाइल, इमेल, इन्टरनेटको पहुँचभित्रै छन् । चारओटा टेलिफोन एक्स्चेन्ज मार्फत दूरसञ्चार कार्यालयले सेवा दिइरहेको छ भने विभिन्न मोबाइल फोन सेवाप्रदायक र इन्टरनेट सेवा प्रदायकहरुले पनि सञ्चारलाई सहज बनाइरहेका छन् । पछिल्ला वर्षहरुमा मानिसको जीवनस्तरमा सुधार हुँदै आएसँगै धेरै मानिसहरु रेडियो, टिभी, स्मार्टफोन आदिमा पहँुच राख्दछन् ।विभिन्न स्थानीय पत्रपत्रिकाका साथमा भक्तपुर जिल्लामा सबै राष्ट्रिय पत्रपत्रिकाहरु पनि उपलब्ध हुन्छन् ।
ङ) पेयजल
भक्तपुरमा दैनिक असी लाखदेखि एक करोड लिटरसम्म पेयजलको माग भएको कुरा तथ्याङ्कले देखाउँछ । केयूकेएलले नगरकोट फेदीको मुहान पोखरीबाट बीस लाख लिटर र मध्यपुर थिमीको बोडेबाट पन्ध्रलाख लिटर खानेपाली वितरण गरिरहेको छ । स्थानीय निकायहरुले पनि ठाउँठाउँमा बोरिङ, इनार आदिको व्यवस्था गरेर पेयजलको समस्या समाधान गर्ने प्रयास गरिरहेका छन् । हुन त काठमाडौँ उपत्यकाभरि नै अपेक्षा गरिएअनुसार पेयजलको सहज उपलब्धता छैन । भक्तपुरको झौखेललगायतका क्षेत्रहरुमा प्रशोधित पानीको बिक्रीवितरण गर्ने दर्जनौँ उद्योगहरु पनि छन् र ट्याङकरबाट पानी वितरण गर्ने व्यवसायीहरुले पनि सेवा दिने प्रयास गरिरहेका छन् । पानीका प्राकृतिक मुहानहरु सुक्दै गएका र नगरपालिका तथा केयूकेएलले स्रोतभन्दा माग बढी भएका कारण अपेक्षित सेवा दिन नसक्दा पेयजलको समस्या समाधान हुन सकेको छैन ।
च) खोलानाला
हजारौँ नदीनालाको देशभित्रको उपत्यका हुनाका बावजुद पनि भक्तपुरमा काठमाडौँ जिल्लासित सिमाना छुट्याउने मनोहरा र नगरको बीचमा बहेको हनुमन्ते खोला नै प्रमुख हुन् । यिनै दुई खोलाहरुमा आएर मिल्ने सहायक खोलाखोल्साहरुमा खसाङखुुसुङ खोला, दुर्गे खोला, चारखण्डे खोला आदि पर्दछन् । सामान्यतः आकासेखेतीबाट नै कृषिकर्म हुने भक्तपुरको जमिन भने रसिलो नै रहेका कारण यहाँ सानाठूला गरी दर्जनौँ पोखरीहरुको अस्तित्व जीवित छ ।
छ) खेलकुद
विकसित देशहरुले खेलकुदलाई विकासको एउटा अपरिहार्य मापक भन्ने बुझेर यसलाई उच्च प्राथमिकतामा राख्ने गरेको भएता पनि हाम्रो देशमा यसलाई विशेष महत्व दिइएको देखिन्न । भर्खरभर्खर खेलकुदका लागि देशव्यापी लहर उठेको छ र खेलमैदान तथा कार्यक्रमका लागि प्राथमिकता दिन सुरु भएको छ । त्यस्तै भक्तपुरमा पनि अन्तर्राष्ट्रिय रङ्गशाला बनाउनका लागि पहल गरिँदै छ । फुटसल, फुटबल, क्रिकेटजस्ता खेलमा रुचि राख्ने भक्तपुरका बासिन्दाहरु कबड्डी, ब्याडमिन्टन, दौड, भलिबल, बास्केटबलतर्फ पनि आकर्षित छन् । विशेषगरी विद्यालय, कलेज, स्थानीय क्लबहरु र स्थानीय निकायहरुले खेलकुदका कार्यक्रमहरु चलाइरहेको देखिन्छ ।
ज) पर्यटन
पर्यटनका लागि स्वच्छ, सफा, शान्त र सुरक्षित भक्तपुर नेपालको प्रथम वर्गको रोजाइमा पर्ने जिल्ला हो । भक्तपुर र मध्यपुर नगरक्षेत्र र त्यहाँका विश्वप्रसिद्ध मन्दिरहरु, विहार, पाटीपौवा, दरबार तथा सांस्कृतिक गतिविधिका अतिरिक्त चाँगुनारायण मन्दिर, सूर्यविनायक मन्दिर, डोलेश्वर महादेवको मन्दिर, नगरकोट डाँडा लगायतका सुप्रसिद्ध गन्तव्यहरु देशविदेशमा चर्चित छन् । पर्यटनका अतिरिक्त तीर्थाटनका लागि पनि हजारौँ आगन्तुकहरु देशविदेशबाट भक्तपुर आउने गर्दछन् । यहाँका ठूलासाना होटल तथा अन्य पर्यटन व्यवसायीहरु पर्यटकको सेवामा अभ्यस्त छन् । शालीन बासिन्दाहरु, मनकारी आतिथ्य, अपनत्व, सुगम क्षेत्र भएका कारण पनि भक्तपुर पर्यटकहरुका लागि प्यारो छ । थाङ्काचित्र तथा मौलिक हस्तकलाका सामग्रीहरुले पर्यटकीय मार्गहरु भरिएका हुन्छन् । भक्तपुर नगरपालिकाले पर्यटनको महत्वलाई आत्मसात् गर्दै नगरको सरसफाइमा अनुकरणीय काम गरिरहेको छ । प्रभावकारी गुरुयोजना र प्रचारप्रसारको विस्तार गर्न सकेमा भक्तपुर पर्यटनबाट नै आत्मनिर्भर बन्न सक्ने कुरामा सायद दुईमत नहोला ।
झ) प्राकृतिक सम्पदा
मानवनिर्मित कला र सांस्कृतिक सम्पदाका अतिरिक्त प्राकृतिक सम्पदामा पनि भक्तपुर जिल्ला सुसम्पन्न छ । पूर्वतिरको नगरकोट, उत्तरतिरको चाँगुनारायण, दक्षिणतिरको रानीकोट, आशापुरी र कैलाशपर्वत लगायतका डाँडाकाँडाका अतिरिक्त त्यहाँका हरियालीयुक्त वन सम्पदाले पनि भक्तपुरलाई धनी तुल्याएका छन् । मनोहरा खोला र हनुमन्ते खोलाबाट सिञ्चित भक्तपुर उर्बर माटोले गर्दा कृषिकर्मका लागि अनुकूल छ । वरिपरिका पहाडहरु पत्थरिला छन् । समथर उपत्यका र डाँडा काँडामा केकस्ता खनिजपदार्थहरु छन् भन्ने बारेमा खासै खोज भएको छैन । काठमाडौँ उपत्यका आफैँमा एउटा अतिप्राचीन सभ्यता भएकाले पनि खनिज पदार्थको उत्खनन्लाई महत्व दिन सकिने अवस्था छैन । वर्षभरि नै अनुकूल हावापानी, सन्तुलित वर्षात, उत्तम तापक्रम आदिले गर्दा यो जिल्ला बसोबासका लागि उत्कृष्ट छ ।
ञ) सामाजिक अवस्था
भक्तपुर एक बहु आयामिक जिल्ला हो जहाँ विभिन्न, धर्म, भाषा, जाति र संस्कृतिका मानिसहरुको बसोबास रहेको छ । पछिल्लो राष्ट्रिय जनगणना अनुसार ५५.८५ प्रतिशत नेवार, १८.५३ प्रतिशत क्षेत्री, १०.१४ प्रतिशत बाहुन, ६.५३ प्रतिशत तामाङ, १.६३ प्रतिशत मगरका साथमा अन्य जनजाति र दलितहरु भक्तपुर जिल्लामा मिलीजुली बस्दछन् । मातृभाषाका रुपमा ५४.१ प्रतिशत बासिन्दाहरुरञ्जना र हिमोलजस्ता आफ्नै लिपिहरु भएको नेपालभाषा बोल्दछन् । साझा भाषाका रुपमा बोलिने नेपाली भाषा नै मातृभाषा हुनेहरु ३६.९ प्रतिशत छन् र ६.४३ प्रतिशतले तामाङ भाषा बोल्दछन् । धर्मका हिसाबले ८७.८५ प्रतिशत हिन्दू, ९.१८ प्रतिशत बौद्ध, १.९७ प्रतिशत इस्लाम र केही अन्य धर्माव लम्बीहरु यहाँ बस्दछन् । विशेष गरी मूल नगरमा नेवारहरुको बसोबास छ । यसका साथै जिल्लाका छेउछाउमा भएका प्राचीन स्मारक र देवालयहरुका नजिक पनि नेवारहरु परापूर्व कालदेखि बसोबास गर्दै आएका छन् ।
देशकै साझा पर्वका रुपमा रहेका दसैँ र तिहार सबैले मनाउँछन् । गाईजात्रा, बिस्काःजात्रा, धान्य पूर्णिमा, सितिनख, सकिमना पुन्ही, इन्द्रजात्रा, म्हपूजा, ईही, बाःराः तयेगु, पुलिकिसी, घन्टाकर्णको जात्रा आदि चाडपर्व र परम्परागत क्रियाकलापहरु नेवार समुदायमा आस्थाका साथ मनाइन्छन् । बुद्धपूर्णिमा, जनैपूर्णिमा, एकादशी पर्व, माघे सङ्क्रान्ति, मातातीर्थ औँशी, कुशे औंशी, श्रीकृष्ण जन्माष्टमी, श्रीपञ्चमी, शिवरात्री, फागु पूर्णिमा जस्ता पर्वहरु अधिकांश बासिन्दाहरुले साझा रुपमा मनाउने गर्दछन् । असारको पन्ध्र गते दहीचिउरा खाने, साउनको पन्ध्र गते खीर खाने, तीजको व्रतका अघिल्लो साँझ दर खाने, हरिबोधिनी एकादशीका दिन विभिन्न अनाजहरु, बदाम आदि भुटेर र सखरखन्ड र पिडालु उसिनेर प्रसाद चढाई खाने, माघे सङ्क्रान्तिका दिन घिउचाकु खाने, चैतेदसैँमा आफन्तहरु बोलाएर भोज गर्ने, तीजमा महिलाहरु निराहार भई पानीसमेत नपिई व्रत बस्ने, ऋषिपञ्चमीमा महिलाहरु व्रत बसी गङ्गास्नान गरी पूजा लगाउने, छोरीचेली किशोरावस्थामा प्रवेश गर्ने बेलामा गुन्युचोली दिनेजस्ता चलनहरु बाहुनक्षेत्रीको समाजमा लोकप्रिय छन् । यहाँ बसोबास गर्ने विभिन्न सम्प्रदायका मानिसहरू आआफ्नै विधिबाट कुलदेवताको पूजा गरी आफू र आफ्नो परिवारको मङ्गलकामना गर्दछन् । सबै जातिका आआफ्नै किसिमका जन्मसंस्कार, विवाह, व्रतबन्ध, दाहसंस्कार, श्राद्ध लगायतका रीतिरिवाजहरू छन् । विभिन्न पर्वमा थरीथरीका परिकारहरू पकाउने र परम्पराअनुसारका भेषभूषा लगाउने प्रचलन पनि उल्लेख्य छ । समग्रमा भक्तपुर जिल्ला मौलिकताका सन्दर्भमा एउटा उदाहरणीय जिल्ला हो ।


Skip to toolbar